काठमाडौँ । हङकङको ताइ पो आवासीय क्षेत्रमा बुधबार भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
१५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक समेत रहेका चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय समय अनुसार बुधबार दिउँसो २ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
मर्मतका लागि लगाइएको बाँसको स्काफफोल्डिङबाट आगो अन्य भवनमा समेत फैलिँदा ठुलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।
अचानक आगलागी हुँदा घना बसोबास रहेको भवनमा थुप्रै मानिस फसेका हुनसक्ने आशंका छ । ताइ पो मा रहेको फुक कोर्ट नामक आवासीय क्षेत्रका कूल ८ ब्लकमध्ये ७ वटामा आगलागी भएको छ ।
सार्वजनिक भएका तस्बिर र भिडियोमा धेरै भवनहरूमा आगलागी हुँदा ठुलो क्षति भएको देखिन्छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइ पो मा भएको भीषण आगलागीका पीडितहरूप्रति दुःख व्यक्त गरेका सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।







