काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीमैत्री व्यवस्था लागू गर्दै अबदेखि वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा छुट्टै निवेदन लेखिरहनु पर्ने झन्झट अन्त्य गरेको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सेवाग्राहीले अनावश्यक समय, पैसा र श्रम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रक्रिया सहज, सरल र छिटो पार्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको स्पष्ट गरेको छ ।
अघिल्लो व्यवस्था अनुसार सिफारिस लिएर कार्यालय पुगेपछि पुन: निवेदन लेख्नुपर्ने बाध्यता थियो, जसका कारण सेवाग्राहीले निवेदन लेखाउने र थप शुल्क तिर्ने समस्यासँगै समय खेर जाने अवस्था सिर्जना हुँदै आएको थियो ।
अब भने वडा कार्यालयको सिफारिस पत्रमै उल्लेखित ब्यहोरा ठिक साँचो हो, फरक परेमा प्रचलित कानून बमोजिम सहुँला बुझाउँला भन्ने उल्लेख गरी सहीछाप गराइयो भने सोही आधारमा सेवा प्रदान गरिने सूचनामा उल्लेख छ ।
कार्यालयले थप निवेदन लेख्न नपर्ने भए पनि सम्बन्धित सेवाका लागि आवश्यक दस्तुर (हुलाक टिकट) र चाहिने अन्य कागजातहरू भने अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।
सहज सेवा प्रवाहका लागि कार्यालयले आफ्नो सहायता कक्ष मार्फत आवश्यक जानकारी र सहयोग उपलब्ध गराउनेछ ।








