काठमाडौँ । प्रतिबन्धित लागुऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ घर भई हाल हेटौँडा उपमहानगरपालिका-१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरी गाउँपालिका-५ वसन्तपुर निवासी २३ वर्षीय सञ्जित आले, मनहरी गाउँपालिका-३ लामिटार निवासी ३३ वर्षीय विनोदबहादुर बल र मनहरी गाउँपालिका-५ निवासी ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट करिब २० मिलिग्राम लागुऔषध खैरो हेरोइन र बा८९प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।







