काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ ।
विशेष अदालतमा शुक्रबार भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीको बयान सकिए पनि थुनछेक नभई बयान भएको थियो ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र विदुर कोइरालाको इजलासमा थुनछेक बहसका लागि पेशी तोकिएको थियो । बयान सकिए लगत्तै थुनछेक बहस हुनुपर्ने भए पनि एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि थुनछेक बहस हुन नसकेको विशेष अदालत स्रोतले बतायो ।
क्यानमा महानिर्देशक रहेका अधिकारीसँग जोडिएको एक मुद्दाको फैसला उच्च अदालतमा रहँदा सुनुवाइ गरेका कारण हेर्न नमिल्ने भएको हो । बयान सकिएको उक्त मुद्दाको अर्को पेशी आइतबार राखिएको छ।







