काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा आउने नै भए पार्टीमा निवेदन दिनुपर्ने दोहोर्याएका छन् ।
भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको सदस्यताको कुरा उठाएपछि जवाफ फर्काउँदै ओलीले भण्डारीको राष्ट्रपतिको कार्यकाल अवधिको सदस्यता नजोडिने प्रष्ट्याएका छन् ।
उनले भने, ‘उहाँले पार्टीलाई घृणा गरेर, मन नपरेर सदस्यता छाडेको हैन । पार्टीप्रति सम्मान र माया नै थियो । राष्ट्रपति हुँदा संवैधानिक व्यवस्थाका कारण साँच्चै छाड्नुभएको हो । हामीले दुनियाँलाई ढाँट्नुपर्दैन । फर्किएर आए पनि भावनामा हैन, यथार्थमा चल्नुपर्छ विद्या भण्डारीको ७ वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन । त्यो अघि एमालेको नेता हुनुन्थ्यो, त्यसपछि हुन सक्नुहोला तर त्यो अवधिमा उहाँ राष्ट्रको नायक हो । त्यो बीचको सदस्यता जोड्नु भनेको कानुनसँगको खेलबाड हो । लिन मन छ भने म सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्यो ।’
भण्डारी कुनै कार्यकारी पदमा नभई सेरेमोनियल पदमा रहेकाले आलोचना र विरोधको चक्रव्यूहमा नफस्दा राम्रो हुने ओलीको भनाइ थियो ।







