काठमाडौँ । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदी बन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।
गत शुक्रबार कैदी बन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदी बन्दी घाइते भएका थिए ।
घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदै छ ।
कारागारको घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको बताइएको छ।







