काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले आज सिंहदरवार वैद्यखाना विकास समितिको अनामनगरस्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् ।
सो क्रममा उनले समितिलाई आयुर्वेदिक औषधि उत्पादन गर्नका लागि आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले समितिबाट उत्पादन भएका आयुर्वेदिक औषधि मुलुकभर पुर्याउनुपर्नेमा समेत जोड दिइन् । मन्त्री डा. गौतमले वैद्यखानाबाट उत्पादन भएका आयुर्वेदिक औषधि र खाद्यपूरक आहारको प्रचार हुन नसकेकाले प्रचारमा पनि ध्यान दिन आग्रह गरिन्।
सरकारले नागरिक आरोग्य केन्द्रमार्फत मानिसको जीवनशैली परिवर्तन गर्नु आवश्यक रहेको उनले बताइन् । मन्त्री गौतमले औषधि उपचारमा जडीबुटी र आयुर्वेदको प्रयोग बढाउनुपर्ने बताइन् । उनले समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले समितिबाट अहिले ९४ प्रकार औषधि उत्पादन भइरहेको जानकारी दिए। उनले समितिबाट उत्पादन भइरहेका औषधिको माग बढिरहेकाले सबै आयुर्वेद औषधालयमा आयुर्वेद औषधि पुर्याइरहेको बताए । अनुगमनका क्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवको सहभागिता थियो ।







