काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वगृहमन्त्री रमेश लेखकसँग जाँचबुझ आयोगले लिएको बयानप्रति आपत्ति जनाएका छन् ।
एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठी सम्बोधनका क्रममा उनले सरकारद्वारा गठित आयोगलाई ‘सो कल्ड’ आयोगको संज्ञा दिँदै आपत्ति जनाएका हुन् ।
‘गृहमन्त्रीजीलाई हिजो सो कल्ड आयोगले बोलाएर बयान लियो । गृहमन्त्रीसँग किन बयान लिएको ?,’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘मुछ्न खोजेको होइन ? दलहरूलाई बदनाम गर्न खोजेको होइन ? गृहमन्त्रीले त्यहाँ गोली चलाएको थियो ?’
उनले आफूसँग पनि आयोगले बयान लिने हल्ला सुनेको पनि बताए । ‘हल्ला चल्या छ, प्रधानमन्त्रीसँग पनि बयान लिन्छ,’ ओलीले प्रश्न गरे, ‘यो चुनावको वातावरण बनेको हो र ? पासपोर्ट रोक्का, यो तामासा के हो त्यो ?’
एमाले चुनावमा सहभागी हुने भए पनि अहिलेसम्म चुनावी वातावरण बन्न नसकेको उनको भनाइ थियो । ‘हामी चुनावमा सहभागी हुन्छौं,’ ओलीले भने, ‘तर, अहिलेसम्म चुनावी वातावरण बनेको छैन । राजनीतिक नेताहरूलाई लखेट्ने काम भइराखेको छ ।’







