काठमाडौँ । नेपाल पर्यटन बोर्डले बुधबार आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल-आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ ।
आसियान मुलुकलाई उच्च सम्भावनायुक्त पर्यटन बजारका रूपमा केन्द्रमा राख्दै सन् २०२६ लक्षित विशेष रणनीति सार्वजनिक गरिएको हो ।
आसियान दक्षिण-पूर्वी एसियाका १० देशहरूको संगठन हो, जसमा इन्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, ब्रुनाइ, भियतनाम, लाओस, म्यानमार र कम्बोडिया पर्दछन् ।
उद्घाटन समारोहमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आसियान क्षेत्रलाई दीर्घकालीन र रणनीतिक पर्यटन बजारका रूपमा प्रस्तुत गरे । उनका अनुसार हालसम्म एक लाख सात हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भ्रमण गरिसकेका छन्, जसले उक्त क्षेत्रको ठूलो सम्भावना पुष्टि गर्दछ ।
सिइओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या अघिल्लो वर्षको तुलनामा करिब तीन प्रतिशतले वृद्धि भएको उल्लेख गरे । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि र २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भइसकेका छन् ।







