काठमाडौँ । नेपाल टेलिकमको बल्क एसएमएस सेवा प्रयोग गरिरहेका केही सेवा प्रदायकहरूले अनुमति नलिई राजनीतिक प्रकृतिका सन्देश पठाएको विषयमा सेवाग्राहीबाट गुनासो आएपछि नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
टेलिकमको बल्क एसएमएस सेवा प्रणालीमा आबद्ध भई एसएमएस आधारित सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकहरूले स्वीकृत व्यापारिक उद्देश्यभन्दा फरक राजनीतिक प्रकृतिका सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा पठाएको पाइएको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसायको प्रवर्द्धनका लागि बल्क एसएमएस सेवा प्रवाह गर्न सेवा प्रदायकहरूलाई अनुमति दिने गरे पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण कुनै पनि अवस्थामा उपलब्ध नगराइने स्पष्ट पारेको छ।
टेलिकमले सम्बन्धित सेवा प्रदायकलाई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने किसिमका सन्देश प्रवाह नगर्न कडा रूपमा सचेत गराएको छ। साथै, आगामी दिनमा यस्ता प्रकृतिका सन्देश सर्वसाधारणका मोबाइल नम्बरमा नपठाउन सबै सेवा प्रदायकलाई औपचारिक अनुरोध गरिएको जनाएको छ।
नेपाल टेलिकमले सेवाग्राहीको गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै आएको र भविष्यमा पनि गोपनीयताको पूर्ण सम्मान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।







