काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, गृहसचिव राजकुमार श्रेष्ठलगायत सम्बन्धित निकायका उच्च अधिकारीहरूले काठमाडौँ निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा निर्वाचन व्यवस्थापन, मतदाता विवरण अद्यावधिक, सुरक्षा व्यवस्था, सामग्री व्यवस्थापन तथा कर्मचारी परिचालनलगायत विषयमा जानकारी लिइएको थियो। गृहमन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र सुरक्षित निर्वाचन सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।

अनुगमन टोलीले निर्वाचन कार्यालयका कर्मचारीहरूसँग छलफल गरी देखिएका चुनौती र आवश्यक सहजीकरणका विषयमा समेत सुझाव संकलन गरेको छ।







