काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले देशको समग्र सुरक्षा अवस्था नियन्त्रणमा रहेको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान चुनौतीहरूको सामना गर्न मन्त्रालय सक्रिय रूपमा लागेको स्पष्ट पारे ।
उनका अनुसार सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन एकीकृत सुरक्षा कार्ययोजना तयार गरी जिल्ला तहसम्म कार्यान्वयनमा ल्याइएको छ । “सबै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेका छन्, जसबाट स्थानीय तहसम्म सुरक्षा समन्वय थप सुदृढ गरिएको छ,” गृहसचिव श्रेष्ठले बताए ।
सामाजिक सञ्जालको प्रयोग र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा पनि गृह मन्त्रालय सजग रहेको उनले जानकारी दिए । सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने सन्दर्भमा आवश्यक नीतिगत तथा व्यवहारिक पहलहरू अघि बढाइएको उनको भनाइ छ ।
गृहसचिव श्रेष्ठले सुरक्षा व्यवस्थापनमा राजनीतिक दलहरूको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै यसका लागि सबै पक्षको भूमिका अपरिहार्य रहेको बताए । “सुरक्षा साझा विषय हो, यसमा सबैको सहकार्य आवश्यक छ,” उनले जोड दिए ।
त्यसैगरी, गृह मन्त्रालयले सञ्चार माध्यमको भूमिकालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै मिडियाबाट प्राप्त हुने सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा आत्मसात् गरिने प्रतिबद्धता व्यक्त गरे ।







