काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले मङ्गलवार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
श्रेष्ठ उक्त क्षेत्रमा दोस्रो पटक प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुद मन्त्री भएका थिए।
श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन गर्न डिजिटल दर्ता प्रणाली थालेका थिए। यसैगरी सांसद र मन्त्री हुँदा आफूले गरेका कामको विवरण प्रकाशन गरी उनले मतदातामाझ छलफलको सुरुवात गरेका थिए ।
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा रहेका छन्।
अघिल्लो चुनावमा उनी १० हजार १ सय ५ मत ल्याई निर्वाचित भएका थिए। त्यति बेला श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका थिए। पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका थिए।







