काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गरेका छन्।
उनले जनस्तरमा नेकपाप्रति व्यापक समर्थन देखिएको उल्लेख गर्दै निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास व्यक्त गरेका हुन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सहसंयोजक नेपालले देशभर पार्टीलाई अग्रस्थानमा पुर्याउने वातावरण निर्माण भइसकेको बताएका हुन्। उनका अनुसार मतदातामाझ नेकपालाई पहिलो शक्ति बनाउने चाहना स्पष्ट रूपमा देखिन थालेको छ।
उनले पार्टीले युवापुस्ताको अपेक्षा र आम नागरिकको भावना अनुसार नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै यही कारणले जनसमर्थन बढ्दै गएको बताए। विशेष गरी नयाँ पुस्ताको सोच र प्राथमिकतालाई आत्मसात् गर्दै पार्टी अघि बढिरहेको उनको भनाइ थियो।
सहसंयोजक नेपालले जेन–जेड पुस्ताको भावनासँग मेल खाने गरी राजनीतिक एजेन्डा तय गरिएको दाबी गर्दै वर्तमान निर्वाचनमा नेकपाले नयाँ कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरेका छन्।







