काठमाडौँ । नेपालको पर्वतारोहण र ट्रेकिङ गन्तव्यमा विदेशी पर्यटकको उद्धारका नाममा संगठित ठगी भएको प्रारम्भिक निष्कर्षसहित नेपाल प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ। पर्यटकको स्वास्थ्य समस्या देखाउँदै नक्कली उद्धार तथा उपचार प्रक्रिया देखाई बीमा रकम दाबी गरिएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आएका विदेशी नागरिकलाई उद्धार गरिएको देखाई बीमा कम्पनीहरूबाट गैरकानुनी आर्थिक लाभ लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। साढे दुई महिना लामो अनुसन्धानपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये माउन्टेन रेस्क्यु सर्भिस प्रा.लि.सँग आबद्ध जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रा.लि.का रबिन्द्र अधिकारी र विवेकराज थपलिया तथा एभरेस्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुवास केसी रहेका छन्। उनीहरू विभिन्न पद तथा जिम्मेवारीमा रही उद्धार व्यवस्थापन, अपरेसन तथा चार्टर सेवा सञ्चालनमा संलग्न रहेको सीआईबीले जनाएको छ।
नक्कली अभिलेख र कागजातमार्फत बीमा दाबी
अनुसन्धानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलसँग सम्बन्धित अभिलेख विवरणमा कीर्ते गरिएको, उद्धार गरिएका भनिएका पर्यटकलाई काठमाडौँका विभिन्न निजी अस्पतालमा उपचार गरिएको देखाई उपचारसम्बन्धी बिल तथा कागजात तयार पारिएको खुलेको प्रहरीले जनाएको छ। ती कागजातका आधारमा बीमा कम्पनीसमक्ष झुटो दाबी पेश गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
सीआईबीका अनुसार एउटै उद्धारलाई विभिन्न शीर्षकमा देखाउने, चार्टर उडानलाई आपतकालीन उद्धारमा रूपान्तरण गर्ने तथा एउटै घटनामा बहुविध बीमा दाबी गर्ने अभ्याससमेत भेटिएको छ। यस प्रक्रियामा केही हेलिकप्टर सेवा प्रदायक र निजी अस्पतालहरूसँग मिलेमतो भएको आशंका गर्दै थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
असामान्य उद्धार संख्या र ठूलो बीमा दाबी
अनुसन्धान विवरणअनुसार केही कम्पनीले अत्यधिक संख्यामा उद्धार देखाई ठूलो रकमको बीमा दाबी गरेका छन्। माउन्टेन रेस्क्यु सर्भिस प्रालिले देखाएको कुल उद्धारमध्ये उल्लेख्य संख्यामा शंकास्पद उद्धार भेटिएको र सोही आधारमा एक करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरिएको देखिएको छ।
त्यसैगरी नेपाल चार्टर सर्भिस प्रा.लि. र एभरेस्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रा.लि.ले पनि उद्धार संख्या र बीमा दाबीबीच असामान्य अन्तर देखिएको सीआईबीको अनुसन्धानले औंल्याएको छ। यस्ता गतिविधिले नेपालको साहसिक पर्यटन क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको अधिकारीहरूको भनाइ छ।
गम्भीर कसुरमा अनुसन्धान जारी
पक्राउ परेकामाथि राष्ट्रहित प्रतिकूल कार्य, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। प्रहरीका अनुसार ‘फेक रेस्क्यु’ सम्बन्धी उजुरी अझै आइरहेकाले थप व्यक्ति र संस्थाको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान विस्तार गरिनेछ।
पर्यटन क्षेत्रको संवेदनशीलता र अन्तर्राष्ट्रिय छविसँग जोडिएको यो विषयमा अनुसन्धानलाई गहिरो बनाइने र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने सीआईबीको भनाइ छ।







