काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोली कार्यालयमा पुगेको पुष्टि गर्दै छानबिनका क्रममा कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित केही कर्मचारीका मोबाइल उपकरण नियन्त्रणमा लिइएको जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार छानबिनका क्रममा मोबाइल डिभाइसहरू बरामद गरिएको हो, तर त्यसको सङ्ख्या यकिन भइसकेको छैन ।
आयोगले प्राप्त गरेको सूचनाअनुसार सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा असफल भएका व्यक्तिहरूलाई बिचौलियामार्फत खोजी गरी प्रति व्यक्तिबाट पाँच हजारदेखि १० हजार रुपैयाँसम्म संकलन गरिएको आरोप छ । संकलित रकमका आधारमा तीन महिना अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई लिखित परीक्षा दिन लगाइएको भन्ने सूचनाका आधारमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ ।
उक्त सूचनाको प्रारम्भिक परीक्षणका लागि आयोगको टोलीले कार्यालयमा छापा मारेको र थप अनुसन्धान जारी रहेको बताइएको छ ।







