काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले सुधारिएको पार्टी खोजेका हुन् कि केवल नयाँ अनुहार चाहेका हुन् भन्ने विषय स्पष्ट रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले नेपालको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियताको पक्षमा आवाज उठाउने राजनीतिक दल कहिल्यै पुरानो नहुने स्पष्ट पारे।
उनले भने, “नयाँपनको नाममा अराजकताले स्थान पायो भने देशमा राजनीतिक स्थिरता कायम हुन सक्दैन।” उनले साना कमी-कमजोरीलाई अतिरञ्जित गर्दै नेपालको स्वाधीनतामाथि प्रहार गर्ने प्रयास भइरहेको उल्लेख गरे।
यस्ता प्रवृत्तिप्रति सचेत रहनुपर्नेमा उनले जोड दिए। साथै, गुरुङले सामाजिक सञ्जालमा देखिएको पपुलिजमप्रति टिप्पणी गर्दै एमालेले तथ्य र तर्कका आधारमा सशक्त प्रतिवाद गरे सामाजिक सञ्जालमै रहेका पपुलिस्ट प्रवृत्ति आफैँ कमजोर हुँदै जाने दाबी गरे।







