काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबिच उद्घाटन गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्ने अपेक्षा लिएको बताए ।
नवनिर्मित भवनबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि हुनुका साथै नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्याउन विश्वास उनको छ ।
विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र समुदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा उनले चर्चा गरेका छन् ।
कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र यूनअप्सका नेपालका कन्ट्री मेनेजर कोमल कार्कीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरे।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा यूएनअप्सका अप्रेसन म्यानेजर एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यूएनअप्सको सहयोगमा कुल २ करोड १४ लाख ७३ हजार १ सय ७ रुपैयाँ ६१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।







