काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको सरकाले वर्गीकरण गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताएका छन् । कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको बुढाथोकीले जानकारी दिए।
‘जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटक पटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो। त्यसैले वर्गीकरणको संख्या धेरै भएन,’ उनले भने।
सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण संकलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने उनले बताए। जेन जेड प्रदर्शनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ।
जेन जेड प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते रहेको मन्त्रालयको तथ्यांक छ।







