काठमाडौँ । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु पर्ने भएका कारण जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय संखुवासभाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार २९ माघदेखि खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको बताइएको छ।
इन्द्र दल गुल्म खाँदबारीबाट सेनाको टोली कारागार सुरक्षामा आफ्नो प्लाटुन खटाएको हो । यसअघि उक्त कारागारमा नेपाल प्रहरीले सुरक्षा दिँदै आएको थियो ।
सरकारको निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ ।
यसैबीच निर्वाचनमा शान्ति सुरक्षा चुस्त राख्न नेपाली सेनाले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन बेश स्थापना गरिसकेको जनाएको छ ।
बुधबारदेखि जिल्लाका १० वटै स्थानीय तहमा नेपाली सेना पुगिसकेको इन्द्र दल गुल्मले जनाएको छ । जिल्लामा निर्वाचनका लागि दुई हजार २ सय सुरक्षाकर्मी खटिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला कारागारमा १ सय ४७ जना पुरुष, ८ महिला कैदी बन्दी र दुई जना आश्रित बालबालिका रहेका छन् ।







