काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६औँ राष्ट्रिय योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि कार्ययोजना तयार पारिएको जानकारी दिएका छन्।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले १६औँ योजनाका केही लक्ष्यहरू महत्त्वाकांक्षी भए पनि उपलब्ध स्रोत र परिस्थिति अनुसार पूरा गर्न सकिने बताए। कार्ययोजनाले पर्यटन क्षेत्रलाई लक्षित गर्दै पर्यटकको बसाइ समय १३ दिनबाट १५ दिनमा विस्तार गर्ने, दैनिक खर्च ४० डलरबाट ८५ डलरमा वृद्धि गर्ने र पर्यटन क्षेत्रको जीडीपीमा योगदान २ प्रतिशतबाट ७ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ।
श्रेष्ठले भने, “यी लक्ष्य हासिल गर्न सरोकारवाला सबै निकायको सहयोग आवश्यक छ। कार्ययोजनाले मन्त्रालय र विभागहरूलाई क्षेत्रगत रूपमा काम गर्न मार्गदर्शन दिनेछ र कार्यान्वयनलाई प्रभावकारी बनाउनेछ।”
उनका अनुसार कार्ययोजना मन्त्रिपरिषद्मा पेश भइसकेको छ र यसबाट आगामी दिनमा सम्बन्धित मन्त्रालयहरूलाई योजना कार्यान्वयनमा सहजता मिल्ने अपेक्षा गरिएको छ।







