खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग संयुक्त रूपमा काठमाडौँ उपत्यकास्थित अस्पताल परिसरमा सञ्चालित क्यान्टिन तथा होटलहरूमा अनुगमन गरी म्याद सकिएका पेय पदार्थ र मसला नष्ट गरेको छ। अनुगमनका क्रममा देखिएका स्वच्छता सम्बन्धी कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिइएको छ।
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको संयुक्त अनुगमनमा काठमाडौँ उपत्यकाभित्र अस्पताल क्षेत्रमा सञ्चालित खाद्य व्यवसायहरूको निरीक्षण गरेको छ।
चितवन होटल एण्ड रेष्टुरेण्ट, काठमाडौं–३ ०
अनुगमनका क्रममा कान्ति बाल अस्पतालमा सञ्चालित चितवन होटल एण्ड रेष्टुरेण्टमा फ्राइङ तेलको टि.पि.एम.परीक्षण गर्दा १२.० प्रतिशत भई मापदण्डअनुकूल रहेको पाइएको छ। भान्साको सरसफाइ सन्तोषजनक रहेको उल्लेख छ।
तर समोसा, जेरीलगायत मिठाईजन्य तयारी खाद्य पदार्थ नछोपी सोकेसमा राखिएको पाइएको थियो। विभागले तयारी खाद्य पदार्थ सुरक्षित तापक्रममा छोपेर व्यवस्थित रूपमा राख्न, पेस्ट कन्ट्रोलको व्यवस्था प्रभावकारी बनाउन, नियमित सरसफाइ गरी अभिलेख राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।
एम.बि. चमेना गृह, काठमाडौं–३ (टिचिङ अस्पतालमा सञ्चालित)
यहाँ भान्साको सरसफाइ सामान्य रहेको, फ्राइ तेलको टीपीएम परीक्षण गर्दा १४.० प्रतिशत भई मापदण्डअनुकूल रहेको पाइएको छ।
यद्यपि कामदारको व्यक्तिगत सरसफाइ पर्याप्त नभएको, पेस्ट कन्ट्रोलको व्यवस्था नरहेको, फ्रिजको सरसफाइ सन्तोषजनक नभएको तथा केही तयारी खाद्य पदार्थ नछोपी राखिएको पाइएको छ।
काउण्टर नजिकको फ्रिजमा उपभोग्य मिति सकिएका ९ थान फान्टा (२.२५ लिटर) बोतल फेला परेको थियो। मूल्य रु. २,४३० बराबरको उक्त पेय पदार्थ नष्ट गरिएको विभागले जनाएको छ। साथै पेस्ट कन्ट्रोल मिलाउन, फ्रिजको नियमित सरसफाइ गर्न र म्याद नाघेका खाद्य पदार्थ विक्री–वितरण नगर्न निर्देशन दिइएको छ।
गुजेश्वरी होटल प्रा।लि।, काठमाडौं–११ (वीर अस्पतालमा सञ्चालित)
भान्साको सरसफाइ सन्तोषजनक नरहेको, पेस्ट कन्ट्रोलको व्यवस्था कमजोर रहेको, कामदारको व्यक्तिगत सरसफाइ पर्याप्त नभएको तथा तयारी खाद्य पदार्थ नछोपी राखिएको पाइएको छ।
ताजा तरकारी भुइँमा राखिएको र फोहोर क्रेट प्रयोग गरिएको भेटिएको छ। फ्राइ तेलको टीपीएम परीक्षण गर्दा १४.० प्रतिशत भई मापदण्डअनुकूल रहेको विभागले जनाएको छ। खाद्य स्वच्छतामा विशेष ध्यान दिन, पेस्ट कन्ट्रोल प्रभावकारी बनाउन, नियमित सरसफाइ गरी अभिलेख राख्न र भण्डारण व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ।
सुनील क्यान्टीन, काठमाडौं–११ (ट्रमा सेन्टरमा सञ्चालित)
अनुगमनका क्रममा पेस्ट कन्ट्रोलको व्यवस्था नरहेको, डस्टबिन खुला रूपमा प्रयोग गरिएको, तयारी खाद्य पदार्थ नछोपी राखिएको तथा ५० ग्रामको १ प्याकेट बिर्यानी मसलाको उपभोग्य मिति सकिएको अवस्थामा फेला परेको छ।
उक्त मसला (मूल्य रु. १००) नष्ट गरिएको छ। साथै ढक्कन भएको डस्टबिन प्रयोग गर्न, पेस्ट कन्ट्रोल मिलाउन, तयारी खाद्य वस्तु छोपेर राख्न र म्याद नाघेका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिइएको छ।
अनुगमनबाट देखिएका कैफियत तत्काल सुधार गरी खाद्य स्वच्छता कायम गर्न सम्बन्धित व्यवसायलाई सचेत गराइएको छ ।
अस्पतालजस्तो संवेदनशील स्थानमा उपभोग हुने खाद्य वस्तुको स्वच्छतामाथि प्रश्न उठ्नु आफैंमा चिन्ताको विषय हो। बिरामी र तिनका कुरुवाले खाने भोजनमै न्यूनतम मापदण्ड पालना नहुनु केवल व्यवस्थापनको कमजोरी मात्र होइन, सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर प्रश्न पनि हो।
नियमनकारी निकायको सक्रियता सकारात्मक संकेत भए पनि दीर्घकालीन सुधारका लागि सम्बन्धित व्यवसाय र व्यवस्थापन पक्षको जवाफदेहिता नै निर्णायक हुनेछ।







