काठमाडौँ । नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन र रणनीतिक तयारीलाई सुदृढ गर्ने उद्देश्यसहित विश्लेषण महाशाखा गठन गरेको छ। उक्त महाशाखाको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली लाई जिम्मेवारी दिइएको छ।
प्रहरी स्रोतका अनुसार महाशाखाले निर्वाचन अवधिमा सुरक्षा चुनौतीहरूको मुल्यांकन, प्रहरी परिचालनको रणनीति निर्धारण तथा देशभरको समग्र सुरक्षा अवस्थाको विश्लेषण गर्ने कार्य गर्नेछ। ज्ञवाली हाल कार्य विभागमा कार्यरत रहेका छन्।
नयाँ संरचनाले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्न सक्ने समूह, व्यक्ति वा गतिविधिको पहिचान गरी निगरानी बढाउने तथा सम्भावित जोखिम न्यूनीकरणका उपायहरू तय गर्नेछ। सुरक्षा जोखिम निम्त्याउने तत्त्वहरूको गतिविधि नियन्त्रणका लागि आवश्यक योजना पनि महाशाखाले तयार गर्ने जनाइएको छ।
देशभर रहेका प्रहरी इकाइहरूसँग समन्वय गर्दै केन्द्रीय स्तरमा सुरक्षा नीति निर्माण तथा कार्यान्वयन मार्ग निर्देशन तयार गरिने प्रहरी प्रधान कार्यालय ले जनाएको छ। निर्वाचन अवधिमा एकीकृत सूचना संकलन र विश्लेषणमार्फत निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको बताइएको छ।







