काठमाडौँ । नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले नेपालमा वामपन्थी कम्युनिष्टहरुको मत बढी भएपनि विभाजित हुँदै गएको बताएका छन् ।
गण्डकी प्रदेशमा पूर्व मन्त्री समेत रहेका गुरुङले चित्त नबुझे नेकपाको तारा चिन्हमा मत हाल्न आग्रह गर्दै अन्य पार्टीको चुनाव चिन्हमा मत नहाल्न आग्रह गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ । ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौँ, तर अन्य पार्टीमा नहालौँ ।’
सूर्य चुनाव चिन्हमा चित्त नबुझे नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन चिन्हमा भोट हाल्न आह्वान गरेका छन् ।
‘विगतमा माओवादीको आकार बढ्दा एमालेको आकार घटेको थियो एमालेको आकार बढ्दा माओवादी को घटेको थियो’, उनले भने, ‘ एमाले माओवादी मिल्दा झण्डै दुई तिहाइ पुगेको थियो।तर अहिलेको निर्वाचनमा ती दुई पार्टीमा भोट हाल्दै आएका मतदाताहरूले कतै मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा तिनीहरू फेरि वामपन्थी पार्टीमा फर्केर आउने सम्भावना कम हुन्छ अर्थात् तिनीहरू सधैँको लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन्।’







