काठमाडौँ । खाडी क्षेत्रका विभिन्न देशले आफ्नो आकाश मार्ग अस्थायी रूपमा बन्द गरेपछि सोमबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने ३१ अन्तर्राष्ट्रिय उडान आवागमन प्रभावित भई रद्द गरिएको छ।
विमानस्थल प्रशासनका अनुसार खाडी मुलुकतर्फ जाने र त्यहाँबाट काठमाडौँ आउने नियमित उडानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका हुन्। हवाई क्षेत्र बन्द भएपछि पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने उडानहरू रोक्नुपरेको जनाइएको छ।
यसबाट जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडानहरू प्रभावित भएका छन्। कुवेत-काठमाडौँ–कुवेत, शारजाह-काठमाडौँ-शारजाह, अबुधाबी-काठमाडौँ-अबुधाबी, दुबई-काठमाडौँ-दुबई तथा दोहा-काठमाडौँ-दोहा मार्गमा सञ्चालन हुने सेवा स्थगित गरिएको छ।
विशेषगरी एयर अरेबिया र फ्लाइ दुबईका केही उडानहरू मंगलबारसम्म सञ्चालन नहुने जानकारी दिइएको छ।
हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएका देशहरूमा कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन समावेश छन्।
विमानस्थल प्रशासनले प्रभावित यात्रुको व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा अन्य सरोकारवाला निकायसँग समन्वय जारी रहेको जनाएको छ। यात्रुलाई आफ्नो उडानको पछिल्लो अवस्था, पुन:तालिका तथा वैकल्पिक व्यवस्थाबारे जानकारी लिन सम्बन्धित एयरलाइन्ससँग सिधा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यसअघि शनिबार र आइतबार गरी दुई दिनमा ४१ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। प्रारम्भिक विवरणअनुसार ती उडानहरू प्रभावित हुँदा करिब ६ हजार ८ सय यात्रु समस्यामा परेका थिए।







