काठमाडौँ । देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न मतदान केन्द्रहरूमा मतदाताले मतदान गरिरहेका छन्। तर दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका मतदाताहरू भने हालसम्म मतदान प्रक्रियामा सहभागी हुन मतदान केन्द्रमा पुगेका छैनन्।
वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी मतदाताको प्रतीक्षामा बसेका छन्। तर हालसम्म एक जना पनि मतदाता मत हाल्न नआएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए।
उनका अनुसार मतदाताहरूले नै मतदान नगर्ने अडान लिएकाले मतदान प्रक्रियामा सहभागिता देखिएको छैन।
उक्त मतदान केन्द्रमा कुल ११३ जना मतदाता रहेका छन्। मतदानका लागि मतदान अधिकृतसहित पाँच जना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटाइएका छन्।
‘मतदानका लागि अनुरोध गर्दा पनि यो हाम्रो स्वेच्छा हो भन्दै कोही पनि मत हाल्न आउनुभएको छैन,’ अध्यक्ष कार्कीले भने।







