काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर-१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमालले उल्लेखनीय अग्रता कायम गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार धिमालले ७ हजार ८२३ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीले २ हजार ४४३ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार अच्युतप्रसाद मैनालीले १ हजार ६७३ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगालले ३६६ मत प्राप्त गरेका छन्।
मतगणनाको प्रारम्भिक चरणदेखि नै धिमाल अग्रस्थानमा देखिएका छन्। आदर्श कोतवाल गाउँपालिकाका विभिन्न वडाबाट सुरु भएको गणनामा पनि उनले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा अघि रहँदै अग्रता कायम गरेका थिए। पछिल्लो मत परिणामसँगै उनको मतान्तर थप विस्तार भएको देखिन्छ।
उक्त निर्वाचन क्षेत्रमा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेका छन्। तीमध्ये ८१ हजार ९४६ जनाले मतदान गरेका थिए, जुन करिब ६६.०९ प्रतिशत सहभागिता हो।
जिल्लाभर सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्दै मतदान सम्पन्न गरिएको थियो। बारा-१ मा ८६ मतदान स्थलअन्तर्गत १६१ मतदान केन्द्रमार्फत मतदान प्रक्रिया सञ्चालन गरिएको थियो। प्रतिनिधिसभा सदस्य पदका लागि यस क्षेत्रमा २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
हाल उक्त क्षेत्रमा मतगणना कार्य निरन्तर जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।







