परिवारबाट प्राप्त राजनीतिक प्रेरणा, सामाजिक कार्यमा निरन्तर सक्रियता र स्थानीय जनसमुदायसँगको सम्बन्धले बासना थापालाई दैलेखमा स्थापित महिला नेतृ बनाएको छ ।
काठमाडौँ । २०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेकी बासना थापा त्यतिबेला पराजित भएकी थिइन् ।
उनले ४ हजार ८६६ मत प्राप्त गरेकी थिइन्, तर एमालेकी सावित्री मल्लसँग ५७७ मतले हार बेहोर्नुपरेको थियो । त्यो हारले उनलाई राजनीतिबाट टाढा लैजाने होइन, बरु अझ दृढ बनायो ।
समय फेरियो । निरन्तर राजनीतिक सक्रियता, संगठन निर्माण र जनसम्पर्कको बलमा बासना थापा अहिले प्रतिनिधि सभा सदस्यका रूपमा संसद्सम्म पुग्न सफल भएकी छन् ।
दैलेख क्षेत्र नम्बर-१ बाट नेपाली काँग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामअनुसार उनले १२ हजार ३७२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । यसरी बासनाले ५७६ मतान्तरले शर्मा पराजित गर्दै विजय हासिल गरिन् ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार उक्त निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरूले पनि उल्लेख्य मत प्राप्त गरेका थिए । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंहले ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा माओवादीका रामलाल विश्वकर्माले २३५, राजमाका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीकी मेनुका श्रेष्ठले १६ मत प्राप्त गरेका थिए ।
तीन पूर्वसहकर्मी आमनेसामने हुँदा बासनालाई फाइदा
यो निर्वाचन बासना थापाका लागि सहज भने थिएन । उनको प्रतिस्पर्धामा अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापा थिए । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका नन्दकिशोर बस्नेत पनि चुनावी मैदानमा थिए, जसले प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको थियो ।
रोचक पक्ष के थियो भने यी तीनै जना नेता कुनै समय नेकपा एमालेभित्र सहकर्मीका रूपमा सक्रिय थिए । तर फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उनीहरूको मत आधार विभाजित हुन पुग्यो ।
यही कारणले एमालेसँग सम्बन्धित मतहरू विभिन्न उम्मेदवारतर्फ बाँडिन गए, जसले समग्र चुनावी परिणाममा प्रभाव पार्यो । राजनीतिक विश्लेषकहरूका अनुसार यही मत विभाजन बासना थापाको जितको एउटा महत्वपूर्ण कारण बन्न पुग्यो । परिणामस्वरूप उनले आफ्नो प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गर्न सफल भइन् ।
१२ वर्षपछि खड्काको विरासत फर्काउने सफलता
दैलेखको राजनीतिक इतिहासमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काको प्रभाव निकै गहिरो मानिन्छ । पञ्चायतकालदेखि नै काँग्रेसको नेतृत्व गर्दै आएका खड्कासँग उक्त क्षेत्रमा प्रतिस्पर्धा गर्न वामपन्थी दलहरू समेत सहज महसुस गर्दैनथे । लामो समयसम्म उनले दैलेखको राजनीतिमा बलियो प्रभाव कायम राखेका थिए ।

खड्का २०४८, २०५१ र २०६४ सालमा दैलेख-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । खड्काकै पालामा दैलेखमा मोटरबाटो र बिजुली पुगेको हो । तर २०७० सालको निर्वाचनमा भने आफ्नै पार्टीभित्रको अन्तर्घातका कारण उनी पराजित भए । त्यसपछि दैलेख-१ क्षेत्रमा नेपाली काँग्रेसको प्रभाव क्रमशः कमजोर हुँदै गयो ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको प्रभाव बढेपछि काँग्रेसले आफ्नै उम्मेदवार नउठाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गरेको थियो । त्यस्तै २०७९ सालमा बनेको वाम–लोकतान्त्रिक गठबन्धनका कारण यस क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा काँग्रेसकै समर्थनमा विजयी भएका थिए ।
तर यसपटक भने राजनीतिक समीकरणले नयाँ मोड लियो । नेपाली काँग्रेसकी महिला नेतृ बासना थापाले चुनाव जित्दै दैलेख–१ मा १२ वर्षपछि काँग्रेसको पुरानो विरासत पुनः फर्काउन सफल भइन् । उनको विजयसँगै यस क्षेत्रमा काँग्रेसको राजनीतिक प्रभाव पुनः बलियो हुने अपेक्षा गरिएको छ ।
विद्यार्थी राजनीतिबाट संसद्सम्म
बासना थापा नेपाली राजनीतिमा नयाँ अनुहार भने होइनन् । विद्यार्थी राजनीतिबाटै उदाएकी उनी लामो समयदेखि पार्टी संगठन र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी नेतृ हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध हुँदै उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा संलग्न हुँदै उनले संगठन निर्माण र जनसरोकारका विषयमा निरन्तर सक्रियता देखाउँदै आएकी छन् ।
काठमाडौँमा जन्मे-हुर्केकी बासना २०५९ सालमा विवाहपछि दैलेख आएकी हुन् । त्यसपछि उनी दैलेखको सामाजिक तथा राजनीतिक जीवनसँग नजिकिँदै गइन्। हाल उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् र त्यहीँबाट आफ्नो राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएकी छन् ।
बासना थापा नेपाली फिल्म जगत्की लोकप्रिय नायिका बिपना थापाकी बहिनीका रूपमा पनि चिनिन्छिन्। पारिवारिक पृष्ठभूमि र सार्वजनिक परिचयसँगै उनले राजनीतिमा आफ्नै पहिचान निर्माण गर्ने प्रयास निरन्तर गरिरहेकी छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनले दैलेखको नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् । उक्त निर्वाचनमा पराजित भए पनि उनले राजनीतिक सक्रियता भने छोडिनन् । त्यसपछि पनि पार्टी संगठन, जनसम्पर्क र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै दैलेख काँग्रेसभित्र एक सक्रिय महिला नेतृका रूपमा आफूलाई स्थापित गर्दै गइन् ।
पारिवारिक विरासत र राजनीतिक यात्रा
दैलेखमा बासना थापाको राजनीतिक चेतनाको आधार उनको पारिवारिक पृष्ठभूमिसँग जोडिएको देखिन्छ । राजनीति र सार्वजनिक सेवाप्रतिको झुकाव उनले आफ्नै परिवारबाट पाएकी हुन् । उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको ऐतिहासिक आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यही राजनीतिक विरासत र प्रेरणाले उनलाई पनि सार्वजनिक जीवन र राजनीतितर्फ अघि बढ्न उत्साहित गर्यो ।
परिवारबाट प्राप्त प्रेरणालाई पछ्याउँदै बासना थापा २०५७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भइन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको सक्रियता क्रमशः विस्तार हुँदै गयो । २०६१ सालमा उनी दैलेखबाट नेपाली काँग्रेसको क्रियाशील सदस्य बनिन् । त्यसपछि पार्टी संगठन सुदृढीकरण, सामाजिक गतिविधि तथा समाजसेवामा उनको सक्रिय सहभागिता निरन्तर रहँदै आएको छ ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा उनले शेखर-गगन समूहको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् । उक्त निर्वाचनमा सफलता हात पार्न नसके पनि पार्टीभित्र उनको सक्रियता र योगदान भने निरन्तर रह्यो । १३औँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएकी उनी १४औँ महाधिवेशनसम्म आइपुग्दा महासमिति सदस्य बन्न सफल भइसकेकी थिइन्, जसले पार्टीभित्र उनको बढ्दो भूमिका र सक्रियतालाई देखाउँछ ।
राजनीतिक गतिविधिसँगै उनले निजी व्यवसायको क्षेत्रमा पनि आफ्नो सक्रियता कायम राखेकी छन् । उनी होटेल व्यवसाय सञ्चालन गर्दै आएकी छन् । साथै लायन्स क्लबजस्ता सामाजिक संस्थामा आबद्ध भएर सामाजिक सेवा, समुदाय विकास तथा परोपकारी गतिविधिमा पनि सक्रिय रहँदै आएकी छन् ।
अब संसद्को जिम्मेवारी
दैलेखका मतदाताले आफूलाई दिएको विश्वास र समर्थनलाई सम्मान गर्दै बासना थापाले जनताको आशा, भरोसा र अपेक्षालाई पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । निर्वाचन जितेपछि उनले मतदाताप्रति आभार व्यक्त गर्दै अबको आफ्नो मुख्य जिम्मेवारी जनताको आवाजलाई संसद्सम्म पुर्याउने र दैलेखको समग्र विकासका लागि निरन्तर पहल गर्ने बताएकी छन् ।
उनका अनुसार विकास निर्माणका कामहरू वा प्रभावकारी नीति निर्माणको प्रक्रिया कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन । यसका लागि जनताको सक्रिय सहभागिता, सुझाव, सहकार्य र सामूहिक प्रयास आवश्यक हुन्छ । उनले दैलेखका नागरिकहरूसँग निरन्तर संवाद गर्दै उनीहरूको आवश्यकता, समस्या र प्राथमिकतालाई बुझेर त्यसलाई नीति र कानुनमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अब थापा दैलेख जिल्लाको प्रतिनिधित्व गर्दै सिंहदरबारस्थित संघीय संसदमा प्रवेश गर्नेछिन् । स्थानीय तहको निर्वाचनमा भोगेको पराजयपछि पनि उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तर अघि बढाइन् र अन्ततः संघीय संसद्सम्म पुग्न सफल भइन् । संघर्ष, अनुभव र जनताको विश्वासका आधारमा सुरु भएको उनको यो नयाँ यात्रा अब राष्ट्रिय नीति निर्माणको केन्द्रबाट अघि बढ्नेछ ।
यससँगै उनको राजनीतिक जीवनले नयाँ मोड लिएको छ । दैलेखको विकास, जनताको हकहितको संरक्षण तथा प्रभावकारी ऐन-कानुन निर्माणमा योगदान पुर्याउँदै उनले आफ्नो राजनीतिक जिम्मेवारीको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।।







