प्रत्यक्षतर्फ महिला सांसदको संख्या १४ पुग्दा रास्वपा १३ महिला सांसदसहित अग्रणी रहेको छ भने काँग्रेसबाट बासना थापा पहिलो पटक संसद प्रवेश गर्दै छिन्। निर्वाचन आयोगका अनुसार अन्य दलबाट अहिलेसम्म महिला उम्मेदवार विजयी भएका छैनन् ।
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा यस पटक संसदमा पुग्ने सांसदहरूमा धेरै नयाँ अनुहार देखिएका छन्। विशेष गरी महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनको तुलनामा बढ्ने संकेत देखिएको छ।
हालसम्म सार्वजनिक भएको परिणामअनुसार प्रत्यक्षतर्फबाट कम्तीमा १४ जना महिला सांसद संसदमा प्रवेश गर्ने पक्का भएको छ। यो संख्या अघिल्लो प्रतिनिधि सभाको तुलनामा बढी हो। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फबाट ९ जना मात्र महिला सांसद निर्वाचित भएका थिए।
अहिलेसम्म १६५ मध्ये १५५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। त्यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै महिला सांसद संसदमा पठाउने देखिएको छ। रास्वपाबाट १३ जना महिला सांसद निर्वाचित भएका छन् । यस्तै नेपाली काँग्रेसबाट एक जना महिला निर्वाचित भएकी छन्।
रास्वपाबाट निर्वाचित महिला सांसद
निर्वाचन आयोगका अनुसार रास्वपाबाट झापा–२ मा ६० हजार ११० मत ल्याएर इन्दिरा राना मगर विजयी भएकी छन्। चितवन–३ बाट ५९ हजार २७७ मत ल्याएर सोविता गौतम विजयी भइन्।
यस्तै मोरङ–६ बाट ५५ हजार ५१३ मत ल्याएर रुविना आचार्य, झापा–१ बाट ४५ हजार २४१ मत सहित निशा डाँगी निर्वाचित भएकी छन्। सर्लाही–१ मा ४४ हजार १८१ मत ल्याएर नीतिमा भण्डारी (कार्की) विजयी भएकी छन् भने ललितपुर–३ बाट ४३ हजार ०९६ मत सहित तोसिमा कार्की निर्वाचित भएकी छन्।
धादिङ–१ बाट ३९ हजार १२८ मत ल्याएर आशिका तामाङ, सप्तरी–१ बाट ३८ हजार १९५ मत सहित पुष्पाकुमारी चौधरी, कास्की–३ बाट ३७ हजार ७५० मत ल्याएर बिना गुरुङ विजयी भएकी छन् ।
यस्तै कैलाली–१ बाट १७ हजार ८२६ मत ल्याएर कोमल ज्ञवाली, मोरङ–५ बाट ३० हजार ४३४ मत सहित आशा झा, तथा काठमाडौँ–१ बाट १५ हजार ४५५ मत ल्याएर रञ्जु दर्शना निर्वाचित भएका छन्। यस्तै भरखरै मात्र महोत्तरी ४ मा रास्वपाकी गौरी कुमारीले ३० हजार १३२ मत ल्याएर विजयी भएकी छिन् ।
काँग्रेसबाट एक मात्र महिला
यस पटक प्रत्यक्ष निर्वाचनमा नेपाली काँग्रेसबाट बासना थापा दैलेख–१ बाट १२ हजार ३७२ मत ल्याएर निर्वाचित भएकी छन्। उनी पहिलो पटक संसदमा प्रवेश गर्दै छिन्।
अन्य दलबाट महिला शून्य
यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल, जनमत पार्टी तथा स्वतन्त्र उम्मेदवारबाट कुनै पनि महिला विजयी भएका छैनन्। एमालेले १२ जना महिला उम्मेदवार उठाए पनि उनीहरू विजयी हुन सकेनन्। त्यस्तै माओवादी केन्द्रबाट पनि प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व शून्य रहेको छ।
यसरी हेर्दा, यस पटकको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व मुख्यतः रास्वपा र काँग्रेसमा सीमित भएको देखिन्छ।








