काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन/घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको छ । कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) जडान गरेको हो ।
सोमबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीले उक्त प्रणालीको अवलोकन तथा निरीक्षण गरेकी थिइन् । निरीक्षणका क्रममा अन्य सरकारी निकायमा समेत उक्त प्रणाली विस्तार गर्न प्रधानमन्त्री कार्कीसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार प्रणाली लागू भएको करिब तीन महिनाको अवधिमा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सेवाग्राहीमा सन्तुष्टि बढेको देखिएको छ ।
“सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको हो । जेन–जेड आन्दोलनपछि उठेका सुशासन र पारदर्शितासम्बन्धी आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो,” उनले भने, “यसले बिचौलियाको भूमिकालाई कम गर्न मद्दत गरेको छ ।”
उनका अनुसार कार्यालयको भुइँतलादेखि प्रत्येक तलासम्म स्पिकर जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ । प्रणालीमा डिजिटल प्रविधिको प्रयोग गरिएको छ ।
नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी केन्द्रीय डाटाबेस सर्भरमा कहिलेकाहीँ देखिने समस्याका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा केही ढिलाइ हुने गरेको उल्लेख गर्दै प्रजिअ पौडेलले यस विषयमा गृह मन्त्रालयसँग समन्वय गरिएको बताए ।
कार्यालयमा बिहान ९:४५ बजे सेवा सुरु हुनुअघि स्वचालित रूपमा आवाजमार्फत सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको छ । त्यसपछि राष्ट्रिय गान बजाएर मात्र सेवा सुरु गर्ने अभ्यास पनि गरिएको कार्यालयले जनाएको छ ।
यसका साथै दिउँसो खाजा समयअघि सेवाग्राहीलाई जानकारी दिन १०-१० मिनेटको अन्तरालमा सूचना सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ ।







