काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव मागअनुसार आपूर्ति हुन नसक्दा उत्पन्न भएको जनाएको छ।
सोमबार काठमाडौँमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले ग्यासको कृत्रिम अभावभन्दा पनि आपूर्ति घटेकाले बजारमा कमी देखिएको स्पष्ट पारेका हुन्।
उनका अनुसार दैनिक करिब १३० बुलेट ग्यास आयात भएमा आपूर्ति पर्याप्त हुने भए पनि हाल भने दैनिक करिब ९० बुलेट मात्र ग्यास आइरहेको जानकारी विभागमा प्राप्त भएको छ।
ग्यास अभावबारे गरिएको बजार अनुगमनका क्रममा व्यापारीले ग्यास लुकाएर राखेको प्रमाण नपाइएको पनि उनले बताए। तिवारीका अनुसार अभाव बढ्न सक्ने आशंकाका कारण उपभोक्ताले केही मात्रामा अतिरिक्त सञ्चय गरेको अवस्था भने देखिएको छ।
विभागले ग्याससँगै इन्डक्सन चुलोको बिक्री वितरणसम्बन्धी गतिविधिको पनि निगरानी गरिरहेको जनाएको छ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने नेपाल आयल निगमको कार्यसम्पादन कमजोर हुनुका साथै केही व्यापारीले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गरेको आरोप लगाए।







