काठमाडौँ । नयाँ प्रतिनिधि सभाको कार्यसञ्चालन सम्बन्धी तयारीबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। संघीय संसद् सचिवालयको पहलमा बोलाइएको उक्त बैठकमा प्रतिनिधि सभा बैठक सञ्चालनसँग सम्बन्धित विषयहरूमा केन्द्रित भएर परामर्श भइरहेको जनाइएको छ।
संसद् सचिवालयका महासचिवको कार्यकक्षमा जारी अनौपचारिक बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले बिहीबार निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेका छन्। साथै, आयोगले सोही दिन निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको पृष्ठभूमिमा संसद् सञ्चालनका प्रारम्भिक प्रक्रियाबारे छलफल अघि बढाइएको हो।
सचिवालयका अनुसार सांसदहरूको शपथग्रहण मिति तय गर्ने तयारी भइरहेको छ। संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले शपथ, संसद् सञ्चालन र अन्य व्यवस्थापनसम्बन्धी विषयमा दलका प्रतिनिधिहरूसँग परामर्श भइरहेको जानकारी दिएका छन्।
सचिवालयले प्रारम्भिक रूपमा चैत १२ गते शपथग्रहण कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ।
२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि ६ राजनीतिक दल राष्ट्रिय दलका रूपमा स्थापित भएका छन्। समानुपातिक र प्रत्यक्षतर्फ प्राप्त सिटका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली काँग्रेस ३८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो स्थानमा छन्।
त्यसैगरी, श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौँ स्थानमा रहेका छन्। निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।







