काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल संलग्न रहेको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
आयोगका अनुसार विशेष अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै पुनरावेदनको निवेदन दर्ता गरिएको हो। आयोगले सुरक्षण प्रेसका लागि सफ्टवेयर तथा विभिन्न उपकरण खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै सो प्रकरणमा ४० करोड ८५ लाख ७४ हजार ७ सय ४० रुपैयाँ बराबर हिनामिना भएको निष्कर्ष निकालेको जनाएको छ।
उक्त मुद्दामा अख्तियारले बिगो रकम कायम गरी कैद सजाय, बिगोअनुसार जरिवाना तथा असुल उपर गर्नुपर्ने मागसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो। साथै, प्रतिवादीहरूलाई थप सजायसमेत हुनुपर्ने माग दाबी गरिएको थियो।
विशेष अदालतले २०८२ वैशाख २१ गते गरेको फैसलामार्फत आंशिक रूपमा सफाइ दिएको थियो। सो निर्णयप्रति असहमति जनाउँदै आयोगले चैत ५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
मुद्दाको अन्तिम निरूपणका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढ्ने भएको छ।







