काठमाडौँ । घुस लिएको अभियोगमा पक्राउ परेका एक वडाध्यक्षलाई विशेष अदालतले दोषी ठहर गरेको छ। रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जनार्दन यादवविरुद्ध दायर मुद्दामा अदालतले भ्रष्टाचार पुष्टि गरेको हो।
उक्त प्रकरणमा उनले एक व्यवसायीमार्फत अवैध रकम लिएको तथ्य खुलेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले गत असार २३ गते उनीहरूलाई नगदसहित पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो।
अनुसन्धानका क्रममा वडा क्षेत्रभित्र सञ्चालन भएका विभिन्न योजनाहरू सम्पन्न भएपछि भुक्तानी सिफारिस गरिदिने सर्तमा रकम लिइएको देखिएको थियो। उक्त कार्यमा सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक विपिन कुमार पाण्डेयको संलग्नता रहेको पुष्टि भएको थियो।
यससँगै सार्वजनिक पदमा रहँदा आर्थिक अनियमितता गरेको अभियोगमा वडाध्यक्षमाथि कारबाहीको प्रक्रिया निष्कर्षमा पुगेको छ।







