सहकार्य, समन्वय र समावेशी नीतिको प्रभावकारी कार्यान्वयनमार्फत पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन र सुशासनलाई सँगसँगै अघि बढाउँदै समृद्ध र दिगो सहरी मोडलतर्फ टोखा नगरपालिका उन्मुख हुँदै गएको छ ।
काठमाडौँ । उपत्यकाको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिका अहिले केवल एउटा स्थानीय तह मात्र होइन, परिवर्तन, सम्भावना र समृद्धिको एउटा जीवित उदाहरण बनेको छ । केही वर्ष अघिसम्म सामान्य सहरी विस्तारको क्रममा रहेको यो नगर आज विकास, सुशासन र सामाजिक समावेशीकरणको सन्तुलित अभ्यासमार्फत नयाँ पहिचान बनाउँदै अघि बढिरहेको छ ।
टोखाका साँघुरा गल्ली, पुराना बस्ती र सांस्कृतिक सम्पदाबीच अहिले आधुनिक पूर्वाधार, डिजिटल सेवा र योजनाबद्ध विकासका नयाँ संकेतहरू देखिन्छन् । नगरपालिकाले स्वच्छता, पारदर्शिता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अघि सारेका योजनाहरूले यहाँका नागरिकको दैनिक जीवनमै परिवर्तन ल्याउन थालेको छ ।
२०७१ साल मंसिर १६ गते साबिकका पाँच गाविसलाई समेटेर स्थापना भएको टोखा नगरपालिका आज ११ वडामा फैलिएको छ । करिब १७.११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरमा १ लाख ३३ हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ ।
नेवार समुदायको सांस्कृतिक प्रभावले समृद्ध टोखामा नेपाली, नेवारी, तामाङ, शेर्पा र मगर भाषाको संगम पाइन्छ । हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्मावलम्बीहरूको सहअस्तित्वले नगरपालिकाको सामाजिक सद्भावको सुन्दर चित्र कोर्छ । यही विविधता टोखाको पहिचान मात्र होइन, यसको शक्ति पनि हो । “कला संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखा नगर” भन्ने दीर्घकालीन सोचसहित नगरपालिकाले विकासका कार्यक्रम अघि बढाइरहेको छ ।
विकासको स्पष्ट मार्गचित्र
टोखा नगरपालिकाले आफ्नो समग्र विकास यात्रालाई योजनाबद्ध, पारदर्शी र सहभागितामूलक बनाउँदै अघि बढाइरहेको छ । यसका लागि नगरपालिकाले नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायतका विद्यमान कानुनी आधारहरूलाई मार्गदर्शक मानेर नीति, योजना तथा कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्दै आएको छ । कानुनी संरचनाभित्र रहेर दीर्घकालीन सोच र तत्कालीन आवश्यकतालाई सन्तुलनमा राख्दै नगरको विकासलाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रयास गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि तयार गरिएको वार्षिक नगर विकास योजनाले नगरको समग्र विकासका प्राथमिक क्षेत्रहरूलाई स्पष्ट रूपमा पहिचान गर्दै आर्थिक विकास, सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, वातावरण संरक्षण तथा सुशासनलाई विकासका प्रमुख आधार स्तम्भका रूपमा अघि सारेको छ। यी क्षेत्रहरूलाई एक आपसमा अन्तरसम्बन्धित ढंगले अघि बढाउँदै नगरपालिकाले दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा काम गरिरहेको छ ।
नगरपालिकाको योजना निर्माण प्रक्रिया पनि उल्लेखनीय रूपमा सहभागितामूलक बनाइएको छ । स्थानीय बासिन्दा, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न विषयगत समितिहरूको सुझाव, सल्लाह र सरोकारलाई समेटेर योजना तर्जुमा गरिने अभ्यासले विकासलाई केवल प्रशासनिक निर्णयमा सीमित नराखी समावेशी र जनमुखी प्रक्रिया बनाएको छ। यसले स्थानीय आवश्यकताहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सहयोग पुर्याउनुका साथै नागरिकको अपनत्व पनि बढाएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा टोखा नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको देखिन्छ । नगर क्षेत्रमा हाल ९ वटा सामुदायिक विद्यालय, ६८ वटा संस्थागत विद्यालय र ८ वटा वैकल्पिक विद्यालय सञ्चालनमा रहेका छन् । त्यस्तै, ८ वटा स्वास्थ्य चौकी, ८ वटा सहरी स्वास्थ्य केन्द्र र ४ वटा आधारभूत स्वास्थ्य केन्द्रमार्फत नागरिकलाई आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । यी शैक्षिक तथा स्वास्थ्य संस्थाहरूले नगरको मानव विकास सूचकांक सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
यसका अतिरिक्त, नगरमा रहेका १११ सहकारी संस्थाहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्याइरहेका छन् । सहकारीमार्फत बचत, ऋण तथा उद्यमशीलता प्रवर्द्धनका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्, जसले समुदाय स्तरमै आर्थिक सशक्तीकरणलाई टेवा दिएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीका अनुसार, यस्ता पूर्वाधार र संस्थागत संरचनाहरूले टोखाको सामाजिक तथा आर्थिक संरचनालाई अझ सुदृढ बनाउँदै समग्र विकासको आधार तयार पारेका छन् । योजनाबद्ध प्रयास, समन्वय र नागरिक सहभागितामार्फत टोखा नगरपालिका समृद्ध र सन्तुलित विकासको मार्गमा अघि बढिरहेको उनको भनाइ छ ।
समष्टिगत लक्ष्य: समृद्धि र सुशासनतर्फ
टोखा नगरपालिकाले आफ्नो समग्र विकास दृष्टिकोणलाई स्पष्ट लक्ष्यका साथ अघि बढाइरहेको छ । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार नगरपालिकाको मुख्य उद्देश्य भाषा, कला र संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धन, सहरी कृषि खेती तथा उद्यमशीलता विकासमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु हो । परम्परागत सम्पदाको संरक्षण गर्दै आधुनिक आर्थिक गतिविधिलाई सँगसँगै अघि बढाउने रणनीतिमार्फत टोखालाई आत्मनिर्भर र समृद्ध नगरका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।
नगरपालिकाले सहरी पूर्वाधारको स्तरोन्नति, गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, सुलभ तथा पहुँचयोग्य स्वास्थ्य सेवा र सामाजिक समावेशीकरणलाई विकासका केन्द्रीय आधारका रूपमा राखेर काम गरिरहेको छ । यी क्षेत्रमा गरिएका लगानी र कार्यक्रमहरूले स्थानीय नागरिकको जीवनस्तर सुधार गर्न तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुगेको नगरप्रमुख अधिकारीको भनाइ छ ।
उद्यमशीलता प्रवर्द्धनका लागि नगरपालिकाले स्टार्टअप कार्यक्रम तथा श्रम डेस्क सञ्चालनमार्फत स्थानीय नागरिकलाई रोजगारी तथा व्यवसायमा आबद्ध गराउन पहल गरेको छ । लघु उद्यमसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दा सकारात्मक परिणाम प्राप्त भएको नगरप्रमुख अधिकारीले जानकारी दिए ।
उनका अनुसार ‘एक वडा-एक उद्यम’ अवधारणाअनुसार नगरपालिकाले विधिसम्मत प्रक्रियाबाट आउने महिला तथा युवालाई उद्यम सञ्चालनका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । हालसम्म दुई वटा वडामा उक्त कार्यक्रम सञ्चालनमा रहेको र वडा नम्बर ८ मा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योग स्थापना भइसकेको उनले बताए । उक्त उद्योगमा करिब ८० प्रतिशत अनुदान नगरपालिकाले उपलब्ध गराएको छ । त्यस्तै, झोर क्षेत्रमा साबुन उद्योग पनि सञ्चालनमा आइसकेको अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले स्थानीयलाई स्वरोजगारतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उद्यममार्फत आयआर्जन गर्न प्रेरित गरिएको बताए । “स्थानीयले रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्न सकुन् भन्ने हाम्रो लक्ष्य हो,” उनले भने ।
स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउँदै पालिका
स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्नु, सबै वर्ग र समुदायलाई सामाजिक सेवा तथा सुविधामा समान पहुँच सुनिश्चित गर्नु, शिक्षित र स्वस्थ समाज निर्माण गर्नु तथा आधारभूत पूर्वाधारहरूको विस्तारमार्फत नागरिक जीवनलाई सहज र व्यवस्थित बनाउनु नगरपालिकाका प्रमुख प्राथमिकताहरू रहेका छन् र यी प्राथमिकताहरूलाई व्यवहारमा उतार्दै नगरपालिकाले दीर्घकालीन विकासको आधार तयार पारिरहेको छ ।
विकासको सन्तुलन कायम गर्न टोखा नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक सम्पदाको दिगो उपयोगलाई पनि उत्तिकै महत्त्व दिएको छ । वातावरणीय सन्तुलन कायम गर्दै विकास र संरक्षणबीच सन्तुलन मिलाउने प्रयास नगरको दीर्घदृष्टिको अभिन्न हिस्सा बनेको छ । साथै, संस्थागत क्षमता अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सुशासनयुक्त बनाउने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको छ ।
नगरप्रमुख अधिकारीका अनुसार नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग निरन्तर समन्वय गर्दै स्थानीय हितमा हुने कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्दै आएको छ । संघीय र प्रदेश सरकारसँगको सहकार्यमार्फत आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गर्दै विकासका परियोजनाहरूलाई निरन्तरता दिइएको उनले बताए ।
उनका अनुसार स्थानीयवासीले विश्वासका साथ आफूलाई दोस्रो पटक नगर प्रमुखका रूपमा चयन गर्नु विकासप्रतिको साझा अपेक्षाको प्रतिबिम्ब हो । सोही विश्वासलाई आत्मसात् गर्दै नगरको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
पूर्वाधार, आर्थिक र सामाजिक विकासको समन्वित प्रयास
टोखा नगरपालिकाले विकासलाई बहु आयामिक दृष्टिकोणबाट अघि बढाउँदै पूर्वाधार, आर्थिक तथा सामाजिक क्षेत्रलाई समान रूपमा सुदृढ बनाउने प्रयास गरिरहेको छ । मौलिक संस्कृति झल्किने गरी कलात्मक शैलीमा भवन निर्माणलाई प्रोत्साहन गर्दै नगरपालिकाले पानी पुनर्भरणका लागि खुला स्थान छोडी निर्माण गर्ने घरधनीलाई नक्सा पासमा विशेष छुट दिने नीति अपनाएको छ । यसले सहरी विकाससँगै वातावरणीय सन्तुलनलाई समेत ध्यानमा राख्ने नगरको दृष्टिकोण प्रस्ट पार्छ ।
विकास कार्यमा सबै सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्दै नगरपालिकाले आयोजना कार्यान्वयनलाई निर्धारित समय, लागत र गुणस्तरभित्र सम्पन्न गर्ने अभ्यासलाई निरन्तरता दिएको छ । नगर क्षेत्रभित्रका नदी, खोला तथा खोल्साहरूको संरक्षण, करिडोर विस्तार तथा सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राखिएको पूर्वाधार विकास शाखा प्रमुख पूजा कुमारी सिंह शाहीले जानकारी दिइन् । यसैअन्तर्गत ‘मेयर उज्यालो कार्यक्रम’ मार्फत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा स्मार्ट सडक बत्ती जडान गरिएको छ, जसले नगरको रात्रिकालीन सुरक्षा र सुविधा दुवैमा सुधार ल्याएको उनले बताइन् ।
सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन ‘जनता सुरक्षा कार्यक्रम’ अन्तर्गत पालिकाभर सिसिटिभी जडान गरिएको कार्य जारी रहेको शाहीको भनाई छ । उनका अनुसार निर्माण भएका आयोजनाहरूको गुणस्तर, लागत र समयका आधारमा नतिजामूलक अनुगमन प्रणाली लागू गरिएको छ । यस्तै सडक सुरक्षा चिन्ह र पूर्वाधार विस्तारका कार्यहरू निरन्तर सञ्चालनमा छन् । निर्माण भएका पूर्वाधारहरूको दिगो उपयोग सुनिश्चित गर्न नियमित मर्मत सम्भारमा पनि विशेष ध्यान दिइएको नगरपालिकाका नगर प्रमुख अधिकारीले जानकारी दिए ।
विभिन्न आयोजनाहरूको सन्दर्भमा १२१ वटा योजना उपभोक्ता समितिमार्फत कोटेशन प्रक्रियाबाट र २२ वटा योजना विद्युतीय सूचना प्रणालीमार्फत अघि बढाइएको छ । अन्य योजनाहरू सम्झौता तथा कार्यान्वयन चरणमा रहेका छन् । पूर्वाधार विकास शाखा प्रमुख शाहीका अनुसार नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । प्रत्येक वडामा पार्क निर्माणलगायतका कार्यहरू पनि क्रमशः अघि बढाइँदै गएको उनले बताइन् ।
आर्थिक विकास : नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनलाई केन्द्रमा राख्दै स्टार्टअप कार्यक्रम, श्रम डेस्क स्थापना, प्रविधि हस्तान्तरण तथा उद्यमशीलता विकासका गतिविधिहरू सञ्चालन गरिरहेको छ । बेरोजगारहरूको पहिचान गरी सूचीकृत बेरोजगारलाई न्यूनतम अवधिको रोजगारी सुनिश्चित गर्ने प्रयास गरिएको छ । सीटीईभीटीसँग सम्बन्धन प्राप्त संस्थाहरूसँगको सहकार्यमा बेसिक तथा एडभान्स सीपमूलक तालिम तथा सीप परीक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यसले युवालाई दक्ष बनाउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पुर्याएको छ ।
सामुदायिक चौपाया व्यवस्थापनका लागि बन्ध्याकरण, घाइते तथा बिरामी पशुको उपचार र मृत पशुको उचित व्यवस्थापनजस्ता कार्यक्रम पनि सञ्चालनमा छन् । नगरपालिकाले महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने लक्ष्य लिएको छ । साथै सहकारी संस्थाहरूको प्रभावकारी नियमनमार्फत स्थानीय आर्थिक प्रणालीलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको नगरपालिकाले जनाएको छ ।
कृषि क्षेत्रलाई सुदृढ बनाउन २२०० सेट हिउँदे तरकारीको बिउ नि:शुल्क वितरण, कृषकलाई प्राविधिक सेवा, अनुदानमा रासायनिक मल वितरण, सहकारीहरूको नवीकरण तथा सिफारिस, औषधि खरिद तथा वितरण, रेविज तथा खोरेत रोग नियन्त्रण अभियान, तथा जै घाँसको बिउ वितरणजस्ता कार्यक्रम सञ्चालनमा छन् । यी पहलहरूले कृषकहरूको उत्पादन र आयमा प्रत्यक्ष सहयोग पुर्याएको छ ।
सामाजिक विकास : पालिकाले सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षकको व्यवस्था, डिजिटल सिकाइ सामग्रीको विकास तथा प्रवाह, स्थानीय तथा मातृभाषाको पाठ्यक्रम लागू गर्ने योजना, तथा नगर स्तरीय खेलकुद मैदान निर्माण जस्ता कार्यहरू सम्पन्न भएका भएको बताएको छ । विद्यार्थीको प्रतिभा उजागर गर्न प्रोफाइल तयार गर्ने र प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गर्ने अभ्यासले शिक्षालाई व्यवहारिक बनाएको नगरपालिकाले जनाएको छ ।
बालमैत्री तथा युवामैत्री स्थानीय शासनका पूर्वाधारहरू पूरा गर्दै बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यका साथ वडा तहसम्म सूचकहरू क्रमशः पूरा गरिँदै छन् । ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र, दिवा सेवा केन्द्र, नियमित स्वास्थ्य परीक्षण, नि:शुल्क औषधि वितरण, दीर्घ रोग अभियान तथा मेयर दीर्घायु स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा छन् । सुरक्षित मातृत्वका लागि गर्भवती तथा सुत्केरी घरभेट कार्यक्रम, पिएनसी जाँच, एनोमली स्क्यान र न्यानो झोला वितरणजस्ता सेवाहरू पनि पालिकाले यहाँका नागरिकलाई उपलब्ध गराइरहेको छ ।
नगरप्रमुख अधिकारीका अनुसार सामाजिक क्षेत्रमा नगरपालिकाले थालेका कार्यक्रम प्रारम्भिक चरणमै सकारात्मक प्रभाव देखिएको छन् । आगामी दिनमा बजेट वृद्धि गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने योजना रहेको उनले बताए ।
ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि नगरपालिकाले विशेष ध्यान दिएको छ । मठ-मन्दिर, बहाल, पोखरी तथा अन्य सम्पदाको नियमित मर्मत सम्भार र पुनर्निर्माणका साथै अमूर्त सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र प्रचार-प्रसारलाई निरन्तरता दिइएको छ।
त्यसै गरी, तामाङ भाषाको पाठ्यक्रम निर्माण, शिक्षक सरुवा मापदण्ड २०८२, विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि, विद्यालय यातायात निर्देशिका, ‘हाम्रो टोखा’ पाठ्यक्रमका पुस्तक लेखन तथा छपाइ, विद्यालयहरूको अनुगमन तथा सुपरिवेक्षण, मन्टेश्वरी विद्यालय सञ्चालनसम्बन्धी छलफल, बाल संरक्षणसम्बन्धी एकीकृत कार्यविधि निर्माण तथा बालश्रममा रहेका बालबालिकाको उद्धार गरी बाल हेल्प लाइनमा पठाउने कार्यसमेत नगरपालिकाले गरेको छ ।
परम्परादेखि मनाइँदै आएका जात्रा, चाडपर्व, रीतिरिवाज तथा स्थानीय परिकारहरूको संरक्षण, प्रवर्द्धन र संवर्धनलाई पनि नगरपालिकाले प्राथमिकताका साथ अघि बढाइरहेको नगरपालिकाले जनाएको । यसरी पूर्वाधार, आर्थिक तथा सामाजिक विकासलाई समन्वयात्मक ढंगले अघि बढाउँदै टोखा नगरपालिका समृद्ध, सन्तुलित र सुशासित नगर निर्माणको यात्रामा अघि बढिरहेको देखिन्छ ।
विकास निर्माणमा सहकार्य, समन्वय र एकताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाले भौतिक विकासमा उल्लेखनीय प्रगति गरेको दाबी गरे । “टोखा हाम्रो गौरव हो भन्ने भावना स्थानीयमा विकास भएको छ, जसले विकास कार्यलाई सहज बनाएको छ,” उनले भने ।
उनले जनताले दिएको मत र विश्वासलाई सम्मान गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन
टोखा नगरपालिकाले नागरिक सहायता कक्षलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ । सेवा लिन आउने नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको हो । साथै, सबै जनप्रतिनिधि तथा कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा उत्तरदायी बनाउँदै कार्यसम्पादनमा जवाफदेहिता सुनिश्चित गरिएको छ । यसले नगरपालिका भित्र हुने सेवा प्रवाहलाई थप व्यवस्थित र परिणाममुखी बनाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आफ्ना सम्पूर्ण कार्यहरू पारदर्शी ढंगले सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ । भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउँदै सुशासनलाई संस्थागत बनाउने प्रयास गरिएको छ । नगरपालिकाबाट सम्पादन हुने कार्यहरूको सम्बन्धमा सरोकारवाला सबै पक्षबाट प्रभावकारी अनुगमन तथा मूल्याङ्कन हुने व्यवस्था मिलाइएको छ, जसले कार्यप्रणालीलाई विश्वसनीय र उत्तरदायी बनाएको छ ।
नगरपालिकालाई अवैतनिक रूपमा सहयोग गर्न इच्छुक विभिन्न क्षेत्रका ज्ञान, सीप, दक्षता र अनुभव भएका व्यक्तिहरूको विषय क्षेत्रगत रोष्टर अद्यावधिक गर्ने काम पालिकाले गरिरहेको छ । उनीहरूको ज्ञान र अनुभवलाई नगरको हितमा अधिकतम उपयोग गर्दै विकास प्रक्रियालाई सुदृढ बनाइएको नगरपालिकाले जनाएको छ ।
निश्चित आधार र अंकभारका आधारमा विषय क्षेत्रगत तथा वडागत रूपमा बजेट सीमा निर्धारण गर्ने प्रणालीलाई अझ व्यवस्थित बनाउँदै लगिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनिल प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको नियमित सेवा प्रवाह, कार्यसम्पादन सम्झौता र संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८५.२५ प्रतिशत तथा वित्तीय सुशासन मूल्याङ्कनमा ८८ अंक प्राप्त गर्दै नगरपालिकाले जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
त्यसै गरी, जेन जेड आन्दोलनका क्रममा क्षति भएको वडा नं. ११ को कार्यालय भवन पुनः सञ्चालनमा ल्याइएको जोशीले जानकारी दिए । नगरका सबै घरहरूमा मेट्रिक स्ट्रिट एड्रेसिङ प्रणाली जडान गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए । स्वास्थ्य सेवाको पहुँचलाई ध्यानमा राख्दै सरकारले नि:शुल्क उपलब्ध गराउने भनिएका औषधिहरू नगरका स्वास्थ्य संस्थाहरूबाट नि:शुल्क रूपमा वितरण गरिएको समेत योजना तथा अनुगमन शाखा प्रमुख जोशीले जानकारी दिए ।
निष्कर्ष:
समग्रमा, सहकार्य, समन्वय र समावेशी नीतिको प्रभावकारी कार्यान्वयनमार्फत टोखा नगरपालिका योजनाबद्ध विकास, सुशासन र सामाजिक रूपान्तरणको स्पष्ट मार्गमा अघि बढिरहेको छ । पूर्वाधार विस्तार, उद्यमशीलता प्रवर्द्धन, शिक्षा-स्वास्थ्य सेवा सुदृढीकरण र वातावरणीय सन्तुलनलाई सँगसँगै अघि बढाउने प्रयासले नगरको समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ ।
नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहितामा आधारित सेवा प्रवाहले स्थानीय तहप्रतिको विश्वास बलियो बनाउँदै गएको छ भने ‘एक वडा-एक उद्यम’ जस्ता कार्यक्रमहरूले आत्मनिर्भरता र रोजगारी सिर्जनामा टेवा पुर्याइरहेका छन् । परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै अघि बढिरहेको टोखा नगरपालिका केवल भौतिक विकासमा सीमित नरही सामाजिक र संस्थागत रूपान्तरणतर्फ पनि उन्मुख छ ।
योजनाबद्ध प्रयास, संस्थागत सुदृढीकरण र दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिन सकेमा टोखा नगरपालिका दिगो विकास र सुशासनको प्रभावकारी नमुनाका रूपमा स्थापित हुने सम्भावना प्रबल देखिन्छ ।







