काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा एउटा न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
अध्यक्ष केपी ओली पक्राउको विरोध पार्टीले संयम भएर गर्ने बताउँदै उनले यस्तो माग गरेका हुन् । पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गैरसंवैधानिक र गैरकानुनी ढंगले पक्राउ गरिएको बताए ।
‘हामी विधिको पक्षमा उभिएर विरोध गर्छौँ। कुनै कानुनी वा संवैधानिक आधारविना यस्ता कदम चाल्नु गलत हो,’ उनले भने, ‘हामीलाई कानुन र अदालतमाथि पूर्ण विश्वास छ। हामी यो सरकारलाई जनमतको दुरुपयोग नगर्न र विधिको शासन पालना गर्न सचेत गराउन चाहन्छौँ।’
कार्की आयोगको प्रतिवेदनको सर्वोच्च अदालतले पनि गम्भीर प्रश्न उठाएको बताए।
भदौ २३ र २४ गतेका घटनाहरू अत्यन्तै दुखद र हृदयविदारक भएको बताउँदै उनले भने, ‘ यस्ता घटनाहरू हुनु हुँदैनथ्यो। यी घटनाहरू किन भए, कसरी भए र कसको कमजोरीले भए भन्नेबारे निष्पक्ष छानबिन हुनुपर्छ। आयोगको निष्पक्ष प्रतिवेदनलाई हामी स्वीकार गर्छौँ, तर कुनै पनि पूर्वाग्रहपूर्ण प्रतिवेदनलाई हामी र यो देशले स्वीकार्ने छैन।’







