काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः स्वतन्त्र रूपमा सक्रिय हुने घोषणा गरिएको छ।
पार्टीका अध्यक्ष वृशेषचन्द्र लालको नेतृत्वमा रहेको तमलोपाले जनता समाजवादी पार्टी नेपाल सँग गरिएको एकता प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।
यसअघि गत मंसिर २४ मा लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच पार्टी एकीकरण सम्पन्न भएको थियो। त्यसपश्चात् करिब तीन सातापछि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच थप एकता भएको थियो।
तमलोपाका नेताहरूका अनुसार प्रारम्भिक सहमति अनुरूप एकीकरणपछिका प्रतिबद्धता कार्यान्वयन नभएकाले पुनः आफ्नै संगठनात्मक संरचनामा फर्किनु परेको हो। पार्टीका नेता रविशंकरकुमार कर्णले तमलोपा पुरानै हैसियतमा क्रियाशील रहेको उल्लेख गर्दै निर्वाचन आयोगमा दर्ता कायम रहेको जानकारी दिए।
पार्टीभित्रका अन्य एक नेताले पनि एकीकरणका क्रममा संस्थागत मान्यता, राजनीतिक मर्यादा र पारस्परिक सम्मान जस्ता आधारभूत विषयहरू उपेक्षित भएको दाबी गरेका छन्।
उल्लेखनीय रूपमा, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तमलोपाले समानुपातिक तर्फ २ हजार ५८५ मत प्राप्त गरेको थियो।







