काठमाडौँ। नेपाली काँग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको विश्लेषण गरी पार्टीका लागि सुझाव तयार पार्न छुट्टै अध्ययन समिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिलाई पूर्णता दिएको जानकारी दिएका छन्।
अध्ययन समितिको सदस्यमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई रहेका छन्। समितिलाई कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन सात दिनभित्र काँग्रेसको केन्द्रीय कार्यालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ।
भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त आयोगले फागुन २३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो।
सरकारले प्रतिवेदन सार्वजनिक नगरेको भए पनि सञ्चारमाध्यममार्फत प्रतिवेदन व्यापक रूपमा सार्वजनिक भइसकेको छ।







