काठमाडौँ । चिनियाँ उत्पादनमाथि आयात शुल्क वृद्धि गर्ने अमेरिकी तयारीप्रति चीनले प्रतिकारात्मक कदम चाल्ने संकेत दिएको छ।
चिनियाँ विदेश मन्त्रालयले यस्तो अवस्थामा आवश्यक जवाफ दिने चेतावनी दिएको हो।
विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत धारणा सार्वजनिक गर्दै चीनले इरानलाई कुनै प्रकारको सैन्य सहयोग नगरेको स्पष्ट पारेका छन्।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका त्यस्ता दाबीहरूलाई उनले निराधार र असत्य भएको बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहयोग गरेको आरोप लगाउँदै चिनियाँ वस्तुमा ५० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका थिए।
उक्त सन्दर्भमा प्रतिक्रिया दिँदै प्रवक्ता जियानले आरोपका आधारमा कर वृद्धि गरिए चीनले त्यसको उचित प्रत्युत्तर दिने चेतावनी दिएका छन्।







