काठमाडौँ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अर्को पालिकाका कर्मचारीमार्फत नगरपालिकाको खाता सञ्चालन गरेको पाइएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव कमलप्रसाद दाहालले अर्को पालिकाका कर्मचारीमार्फत नगरपालिकाको खाता सञ्चालन गराएका हुन् ।
पालिकामा लेखाको कर्मचारी नभएका कारण गरुडा नगरपालिका वडा नं. ६ का वडा सचिव राजनारायण प्रसाद यादवसँग खाता सञ्चालन गराएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । नगरपालिकामा आफ्नै लेखाको कर्मचारी नभए व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गर्नुपर्ने व्यवस्था भए पनि दाहालले अर्को नगरपालिकाका वडा सचिवसँग खाता सञ्चालन गराएको भन्दै आलोचना भइरहेको छ । मधेश प्रदेश सरकारले रिक्त दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन नगरेका कारण अर्को पालिकाका कर्मचारीमार्फत खाता सञ्चालन गर्नुपरेको उनले बताए ।
दुवै पालिकाको सहमतिसहित यादवकै नाममा खाता सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दाहालले दाबी गरेका छन् । यसबारेमा दुवै पालिकाका प्रमुखसँग कुरा गर्न खोज्दा उनीहरूको फोन उठेन । गरुडा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबाबु प्रसाद चौधरीले भने वडा सचिवले आज सरुवा लिएर अरू पालिकामा गएको जानकारी दिए । वडा सचिवको विषयमा उनले थप बोल्न चाहेनन् ।
यादव वडा सचिवको जिम्मेवारीमा भए पनि उनी साविक गाविस कार्यालयमा सहायक कर्मचारीका रूपमा नियुक्त भई बढुवा हुँदै हाल लेखा अधिकृत (छैटौँ तह) सम्म पुगेको स्रोतले बताएको छ ।







