काठमाडौँ । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारूलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले सारूलाई हालको न्यायिक जिम्मेवारीसमेत सम्हाल्ने गरी उक्त पदमा तोक्ने निर्णय गरेको हो।
त्यसैगरी, मन्त्रिपरिषद्ले उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिम गठित पुनरावेदन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय पनि गरेको छ।
मन्त्री पोखरेलले गुरुङले अदालतको नियमित कामकाजसँगै समितिको नेतृत्वसमेत सम्हाल्ने जानकारी दिएका छन्।







