काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुई महिला नेतृमाथि कारबाही गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य नानीमैया आचार्य र महिला संगठनकी सचिव चम्पादेवी अधिकारीलाई अनिश्चितकाका लागि निलम्बन गरेका हुन्।
पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। समितिको अघिल्लो बैठकले दुवै नेतृविरुद्ध कारबाही सिफारिस गर्ने निर्णय गरेको थियो।
कारबाही अघि सम्बन्धित नेतृहरूलाई स्पष्टीकरण सोधिएको र चम्पादेवी अधिकारीले जवाफ पेश गरेकी थिइन् भने नानीमैया आचार्यले स्पष्टीकरण नबुझाएको जनाइएको छ।
राप्रपाले समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेपछि केही महिला नेतृहरूले असन्तुष्टि जनाएका थिए। त्यसक्रममा पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाउने प्रयास हुँदा केन्द्रीय कार्यालयमा विवाद उत्पन्न भएको थियो।
उक्त घटनापछि नानीमैया आचार्य अनिश्चित कालीन अनशनमा बसेकी थिइन्। सोही प्रकरणको छानबिनपछि अनुशासन समितिले कारबाही सिफारिस गरेको पार्टीले जनाएको छ।







