विराटनगर । कोशी प्रदेशका निर्माण व्यवसायीहरूले निर्माण सामग्री तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण आयोजना सञ्चालनमा कठिनाइ बढेको भन्दै ठेक्का रकम पुनरावलोकन वा आयोजनाको समयावधि थप गर्न सरकारसँग माग गरेका छन्।
निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावस्वरूप पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेकाले हालको लागतमा पूर्वाधार निर्माण कार्य निरन्तरता दिन समस्या भएको जनाएको छ।
महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीले निर्माण क्षेत्र पहिले नै नीतिगत जटिलता र प्रक्रियागत ढिलाइबाट प्रभावित रहेको अवस्थामा पछिल्लो मूल्यवृद्धिले समस्या थप गम्भीर बनाएको बताए। समयमै नीतिगत निर्णय नलिए निर्माण उद्योग नै संकटमा पर्न सक्ने चेतावनी उनले दिए।
व्यवसायीहरूका अनुसार इन्धन महँगिँदा सिमेन्ट, डण्डी, गिट्टी तथा बालुवाजस्ता सामग्रीको मूल्य करिब २० प्रतिशतसम्म बढेको छ। सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य दोब्बर नजिक पुगेपछि सडक आयोजनाहरू विशेष रूपमा प्रभावित भएको उनीहरूको भनाइ छ।
लागत वृद्धि, आपूर्ति चुनौती र समयसीमा दबाबका कारण धेरै पूर्वाधार आयोजना सुस्त वा ठप्प हुने जोखिम बढेको भन्दै व्यवसायीहरूले तत्काल राहत प्याकेज, मूल्य समायोजन व्यवस्था वा म्याद थप सम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।







