काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारले पर्याप्त अध्ययन र वास्तविक अवस्थाको पहिचान नगरी हतारमा डोजर प्रयोग गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बस्ती व्यवस्थापन आवश्यक विषय भए पनि वास्तविक सुकुम्वासी र अन्य अवस्थाबीच स्पष्ट पहिचान तथा छानबिनबिनै कदम चालिएको बताएका हुन्।
उनले सबै बासिन्दालाई एउटै दृष्टिकोणबाट हेरी वास्तविक भूमिहीन नागरिकसमेत प्रभावित हुने गरी व्यवहार गरिएको संकेत गर्दै तथ्यगत अध्ययन, जाँचबुझ र आवश्यक प्रक्रिया पूरा गरेर मात्र निर्णय लिनुपर्ने धारणा राखे।
महामन्त्री पौडेलले राज्यले पर्याप्त तयारीबिनै बल प्रयोगको शैली अपनाएको आरोपसमेत लगाएका छन्।







