काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूलाई अब घडेरी खरिदका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ। कोषले पहिलो पटक यस्तो प्रकारको आवासीय जग्गा खरिदसम्बन्धी कर्जा सुविधा कार्यान्वयनमा ल्याएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यो नयाँ कर्जा कार्यक्रमबारे औपचारिक जानकारी सार्वजनिक गरिएको हो।
मन्त्री रामजी यादवले कोषमा योगदान गर्ने श्रमिकलाई लक्षित गरी ६ प्रतिशत ब्याजदरमा घडेरी खरिदका लागि ऋण सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार यसअघि घर निर्माण, घर खरिद तथा शैक्षिक प्रयोजनका लागि मात्र कर्जा सुविधा उपलब्ध हुँदै आएकोमा अब घडेरी खरिदसमेत कर्जाको दायरामा समेटिएको छ। उनका अनुसार योगदानकर्ताले आफ्नो बचत तथा योगदानको आधारमा अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्।
कर्जा प्राप्त गर्नका लागि कोषमा कम्तीमा १८ महिनासम्म नियमित रूपमा योगदान गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, श्रमिकले गरेको मासिक योगदान तथा संचित रकमको आधारमा कर्जाको सीमा निर्धारण गरिने पनि कोषले स्पष्ट पारेको छ।
सामाजिक सुरक्षा प्रणालीअन्तर्गत योगदानकर्ताको दीर्घकालीन आवासीय आवश्यकता सम्बोधन गर्ने उद्देश्यले यो नयाँ कर्जा सुविधा अघि सारिएको कोषले जनाएको छ।







