काठमाडौँ । लिपुलेक क्षेत्र नेपालको भू-भाग भएको विषयमा भारत सरकारबाट व्यक्त गरिएको अस्वीकारप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन्।
सोमबार काठमाडौँको थापाथलीस्थित हालै हटाइएको सुकुम्वासी बस्तीको स्थलगत अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ऐतिहासिक तथा कानुनी आधारमा लिपुलेक नेपालकै भू–भाग भएको दाबी गर्दै त्यसलाई अस्वीकार गर्न नपाइने धारणा व्यक्त गरेका छन्।
भारतको विदेश मन्त्रालयले उक्त क्षेत्र नेपालसँग सम्बन्धित रहेको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले सन् १८१६ को सुगौली सन्धिले उक्त भू-भाग नेपालको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट देखाउने तर्क प्रस्तुत गरे।
यसैबीच सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा डोजर प्रयोग गरी विस्थापन गरेपछि श्रम शक्ति पार्टीले त्यसप्रति असन्तुष्टि जनाउँदै देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएको छ।
अध्यक्ष राईले प्रभावित नागरिकको अवस्था प्रत्यक्ष बुझ्ने उद्देश्यले हटाइएको बस्ती क्षेत्रको अनुगमन सुरु गरिएको जनाएका छन्। आन्दोलनलाई थप सशक्त बनाउने तयारीसमेत भइरहेको उनको भनाइ छ।






