काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले आफ्नो पदबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका छन् ।
शेर्पाले सार्वजनिक गरेको विज्ञप्तिमार्फत अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल समाप्त भएको जानकारी दिँदै संगठनात्मक नेतृत्वबाट बिदा लिएको स्पष्ट पारेका छन् ।
उनले पदबाट अलग भए पनि सामाजिक दायित्व र परिवर्तनप्रतिको उत्तरदायित्व भने निरन्तर रहने बताएका छन् ।
विज्ञप्तिमा शेर्पाले नेविसंघको १२औँ महाधिवेशन सम्पन्न गर्ने प्रमुख जिम्मेवारी आफूलाई दिइएको भए पनि उक्त लक्ष्य पूरा गर्न नसक्नु आफ्नो जीवनमा गहिरो खड्किने विषय भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो कार्यकालमा भएका कमजोरी र असफलताको सम्पूर्ण जिम्मेवारी व्यक्तिगत रूपमा स्वीकार गर्ने स्पष्ट धारणा राख्दै कुनै बहाना वा अरू पक्षमाथि दोषारोपण नगर्ने बताएका छन् ।







