काठमाडौँ । कर्णाली प्रदेशका ७९ स्थानीय तहमा संघीय सरकारद्वारा स्वीकृत दरबन्दीमध्ये करिब एक चौथाइ पद अझै रिक्त रहेको तथ्य सार्वजनिक भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशका अनुसार कुल ५ हजार ६६० स्वीकृत दरबन्दीमध्ये १ हजार ३६३ पद खाली रहेका छन् । कार्यालयका सचिव लक्ष्मीकुमार विक का अनुसार हाल ४ हजार २९७ कर्मचारी कार्यरत छन् भने उल्लेख्य संख्यामा दरबन्दी अझै पूर्ति हुन बाँकी छ ।
विभिन्न सेवागत समूहअनुसार हेर्दा शिक्षा सेवातर्फ १८३ दरबन्दीमध्ये १३२ पदमा कर्मचारी कार्यरत छन् भने ५१ पद रिक्त छन् । इन्जिनियरिङ सेवामा १ हजार ५५ दरबन्दीमध्ये ६३४ मात्र पदपूर्ति भएको छ, ४२१ पद खाली रहेको र विशेष गरी नवौँ तथा दशौँ तहमा कुनै पनि पदपूर्ति नभएको जनाइएको छ ।
प्रशासन सेवामा १ हजार ५४१ दरबन्दीमध्ये १ हजार ६४ पदमा कर्मचारी कार्यरत छन् भने ४७७ पद खाली छन् । स्वास्थ्य सेवातर्फ १ हजार ८८४ दरबन्दीमध्ये १ हजार ७३२ पदमा कर्मचारी कार्यरत हुँदा १५२ पद रिक्त रहेको विवरण छ ।
त्यस्तै कृषि सेवामा ८१४ दरबन्दीमध्ये ५७७ पद पूर्ति भई २३७ पद खाली छन् भने विविध सेवातर्फ १८३ दरबन्दीमध्ये १५८ पदमा कर्मचारी कार्यरत र २५ पद रिक्त रहेको जनाइएको छ ।
स्थानीय तहगत विवरणअनुसार डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमध्ये मात्र १५ जना कर्मचारी कार्यरत छन् । यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १०५ स्वीकृत दरबन्दीभन्दा बढी अर्थात् ११६ कर्मचारी कार्यरत रहेको तथ्य पनि सार्वजनिक भएको छ ।
सचिव विकका अनुसार कतिपय स्थानीय तहमा करार कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको अनुमान गरिएको छ । उनले रिक्त दरबन्दीको यथार्थ विवरण संकलन गरी प्रदेश लोकसेवा आयोगमा पठाएर पदपूर्तिको प्रक्रिया अघि बढाइने जानकारी दिए ।







