काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधिहरूले भेटघाट गरेका छन् । आज मन्त्रालयमा मन्त्री मेहताले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट संघका प्रतिनिधिसँग भेटघाट गरेकी हुन् ।
सो अवसरमा मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य प्रणालीको डिजिटाइजेसन र अस्पताललाई कागजरहित बनाउन युएनडिपीले प्राविधिक सहयोग गर्ने सरकारको अपेक्षा रहेको बताइन । उनले नेपालको स्वास्थ्य सेवालाई आधुनिक, पारदर्शी र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्न दातृ निकायको सहयोग रहने विश्वास व्यक्त गरिन् ।
भेटमा युनडिपीका प्रतिनिधिले स्वास्थ्य क्षेत्र, सार्वजनिक खरिद प्रणाली र ग्लोबल फण्डका कार्यक्रममा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । सो अवसरमा रक्तदान सेवा, एम्बुलेन्स सेवा, आँखा उपचार सेवा, मानसिक स्वास्थ्य सेवा, जलवायु परिवर्तन तथा स्वास्थ्यजस्ता विषयमा सरकारसँग सहकार्य गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन सकिने विषयमा छलफल भएको थियो ।







