काठमाडौँ । राप्रपा सांसद खुश्बु ओलीले वैदेशिक रोजगारीको नाममा भइरहेको मानव बेचबिखनमा संलग्न गिरोहलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले विशेष गरी कुवेतलगायत खाडी मुलुकमा नेपाली महिलालाई अवैध रूपमा पठाई ठुलो रकममा बेचबिखन गर्ने कार्य भइरहेको दाबी गरिन्।
उनले कुवेतमा रहेको भनिएकी शर्मिला दर्जीको खोजी तथा उद्धारका लागि नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याइन्।
प्रमुख सचेतक ओलीले मानव बेचबिखनका घटनाहरूलाई एकल घटनाका रूपमा मात्र हेर्न नहुने बताउँदै सन् २०१७ देखि नेपाल सरकारले घरेलु कामदारका रूपमा महिलालाई विदेश पठाउन लगाएको प्रतिबन्ध प्रभावकारी हुन नसकेको टिप्पणी गरिन्।
उनका अनुसार प्रतिबन्ध लगाइए पनि वैकल्पिक मार्ग प्रयोग गरेर महिलाहरूलाई विभिन्न मुलुक हुँदै खाडी क्षेत्रमा पुर्याउने क्रम जारी छ। भारतको सीमा क्षेत्र तथा केही अफ्रिकी मुलुकलाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गरिएको उल्लेख गर्दै उनले यसमा संलग्न एजेन्ट र सञ्जालमाथि कडा निगरानी आवश्यक रहेको बताइन्।
सांसद ओलीले मानव बेचबिखनमा संलग्न समूहले आर्थिक लाभका लागि नेपाली महिलालाई जोखिमपूर्ण अवस्थातर्फ धकेलिरहेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रणका लागि प्रभावकारी अनुसन्धान र कडा कारबाही आवश्यक रहेको धारणा राखिन्।







